+
Search

ताजा अपडेट +

पपुलर +

स्टारडमको आडमा ‘दुराचार’

Sambhab
२०७८ फाल्गुन २०, शुक्रबार ०७:०७ गते

नेपाली सिने क्षेत्रमा यस्तो आम प्रवृत्ति छ, जहाँ शक्ति र प्रभावको आडमा यौनशोषण हुनेगर्छ । यस्तो शोषणको भागिदार अक्सर नव–प्रवेशी अभिनेत्री एवं महिला कलाकारहरु हुन्छन् । यसको तात्तातो एक दृष्टान्त मात्रै हुन् पल शाह ।

२० फागुन, काठमाडौं । सिने क्षेत्रमा एउटा प्रचलित शब्दावली छ, ‘कास्टिङ काउच ।’ यो शब्दावली भन्दा बढी प्रवृत्ति हो । यसले सिने क्षेत्रमा व्याप्त यस्तो प्रवृत्तिलाई परिभाषित गर्छ, जहाँ शक्ति र प्रभावको आडमा यौनशोषण हुने गर्छ । अतः यस्तो शोषणको भागिदार अक्सर नवप्रवेशी अभिनेत्री एवं महिला कलाकार हुन्छन् ।

निर्देशक तथा फिल्म विश्लेषक मनोज पण्डितका अनुसार, ५०–६० को दशकमा नेपाली सिनेमामा  ‘कास्टिङ काउच’ व्यापक मात्रामा हुनेगर्थ्यो । सिनेमामा करियर बनाउँछु भनेर आएका नवप्रवेशी कलाकारहरु यसका सिकार हुन्थे । ‘त्यसबेला समाज अहिलेको जस्तो खुलिसकेको थिएन, मिडियाको प्रभाव यति धेरै थिएन’ पण्डित भन्छन्, ‘त्यसैले थुप्रै यस्ता घटना दबाइएका छन् ।’

त्यसताका नवप्रवेशी कलाकारलाई ‘यस्तो भूमिका दिन्छु’ भनी प्रलोभनमा पारेर उनीहरुसँग नाजायज फाइदा उठाइन्थ्यो । ‘फिल्ममा आवद्ध गर्नुअघि उनीहरुलाई कुन चरित्र दिने भन्ने एउटा प्रक्रिया हुन्छ । कथावस्तु अनुसार सही पात्र खोज्नका लागि यसो गरिएको हो’ पण्डित सुनाउँछन्, ‘तर यही प्रक्रियालाई दुरुपयोग गर्दै शारीरिक फाइदा लिने प्रवृत्ति नै स्थापित भयो ।’

समयक्रममा यस्ता घटनाहरु सतहमा देखिन थाले । कति नवप्रवेशी कलाकारले यसविरुद्ध विद्रोह गरे । यद्यपि आवरणमा चमकधमक देखिने मनोरञ्जन वृत्तमा यो प्रवृत्ति निमिट्यान्न भने भएन । यसका अवशेषहरु बाँकी रहे । यस्ता घटनाबारे बेलाबेला महिला कलाकारहरुले आवाज उठाउन खोजेका त थिए तर उनीहरुको पक्षमा बोलिदिने कोही भएनन्, यसै हराएर गए । आफूमाथि भएको हिंसाबारे बोले करियर नै समाप्त हुने भयले सिने क्षेत्रका महिला कलाकारहरुलाई थिचिनै रह्यो । त्यही भीडबाट बाहिर निस्किएर यस पटक बोल्ने आँट गरेकी हुन् एक नाबालिग किशोरीले ।

प्रतिक्रिया